अमेरिकी मध्यावधि निर्वाचनमा १ लाख नेपालीले मतदान गर्ने

१६ कार्तिक २०७५, शुक्रबार ०८:५९

अमेरिका । आउने मंगलबार अर्थात नोभेम्बर ६ मा अमेरिकामा मध्यावधि निर्वाचन हुदैंछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चुनावी मैदानमा छन् । यो राष्ट्रपति चुन्ने निर्वाचन भने होइन ।

राष्ट्रपतिको कार्यकाल अझ दुईवर्ष बाँकी छ । मंगलबारको निर्वाचन नतिजाले अमेरिकी राजनीति र राष्ट्रपति ट्रम्पको आगामी कार्यकाललाई समेत प्रभावित गर्नेछ । अमेरिकाको संसद कांग्रेस का लागि मंगलबार अमेरिकी मतदाताले मतदान गर्नेछन् । ४३५ कंग्रेस सिटका लागि चुनाव हुनेछ । १०० मध्ये ३५ जना सिनेट सिटका लागि पनि चुनाव हुँदैछ । ३६ राज्यमा राज्य संचालन गर्ने गभर्नर पदका लागि पनि चुनाव हुँदैछ ।मतदानकै दिन रातिसम्म यसको प्रारम्भिक नतिजा आईसक्नेछ । यो नतिजाले अमेरिकाको राजनीतिलाई प्रभाव पार्ने भएकाले निकै चासोका रुपमा हेरिएको छ । कंग्रेस सदस्यका लागि जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरिन्छ । यही आधारमा आफ्नो क्षेत्रका लागि मतदाताले कंग्रेसमा प्रतिनिधित्व गर्ने सदस्य चुन्ने छन् । अमेरिकाको संविधानमा राष्ट्रपतिलाई राज्य सञ्चालनको  कार्यकारी अधिकार दिइएको छ । चेक एण्ड ब्यालेन्सका लागि शक्तिशाली संसद र न्यायपालिका छन् । यसलाई अमेरिकी संविधानको सवैभन्दा महत्वपूर्ण विशेषता मानिन्छ ।

यो निर्वाचनमा स्वास्थ्य बीमा, अर्थतन्त्र र इमिग्रेसन मुख्य मुद्दा भएका छन् । यी मुद्दामा मुख्य प्रतिद्वन्द्वी पार्टी रिपब्लिकन र डेमोक्रयाट चुनावी मैदानमा छन् । कंग्रेसमा अहिले २३५ सदस्य रिपब्लिकन छन् । डेमोक्रयाटको सदस्य संख्या जम्मा १९३ छ । ७ पद खाली छन् । बहुमतका लागि २१८ सदस्य हुनुपर्छ । कंग्रेस सदस्य प्रत्येक २ वर्षका लागि चुनिन्छन् । अमेरिकी मतदाताले राष्ट्रपतिको दुईवर्षको कार्यकाललाई रुचाएको वा नरुचाएको निर्वाचनले देखाउनेछ । राष्ट्रपतिमा ट्रम्प आएपछि अमेरिकी राजनीतिमा ध्रुविकरण भईरहेको छ । डेमोक्रयाट पार्टीले कंग्रेस र सिनेटमा जित्यो भने इमिग्रेसन लगायतका मुद्दाहरु राष्ट्रपतिले चाहेजसरी कार्यान्वयन हुने छैनन् । राष्ट्रपतिले यो मध्यावधि निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको जस्ता आरोप लगाइरहेका छन् । चीन र अमेरिकाबीच अहिले राम्रो सम्बन्ध छैन । निर्वाचनमा नेपाली समुदायको चासोपनि बढेको छ । कयौं उमेदवारले नेपालीलाई भेटेरसमेत भोट मागेका छन् । मेरिल्याण्ड, टेक्सस, कोलोराडो जस्ता नेपाली धेरै भएका राज्यमा नेपालीहरु चुनाव अभियानमा पनि देखिएका छन् ।

राज्य विद्यायकमा नेपाली हरी भण्डारी प्रतिस्पर्धामा छन् । उनको भाग्यको फैसला पनि नोभेम्बर ६ मा नै हुनेछ । उनी डेमोक्रयाट पार्टीवाट मेरिल्याण्ड राज्यको विद्यायकका रुपमा मैदानमा छन् । कोलोराडोमा गभर्नर पदका प्रत्यासी जेरार्ड पोलिस नेपाल बुझेका व्यक्ति हुन् । उनी नेपाललाई सहयोग गर्न गठन भएको नेपाल ककस समूहका सह संयोजक समेत हुन् । अमेरिकी नागरिकता लिएका करिब १ लाख नेपालीले यो मध्यावधि निर्वाचनमा मत हाल्ने अनुमान गरिएको छ ।स्वास्थ्य बीमा, इमिग्रेसन जस्ता विषय नेपाली समुदायका लागि  चासोका विषय हुन् । धेरै नेपालीको झुकाब डेमोक्रयाट पार्टीप्रति देखिन्छ ।