अमेरिका आणविक सम्झौताबाट पछि हट्नु पूर्व सोच्नुपर्छः चीन

६ कार्तिक २०७५, मंगलवार ०९:१२

 

करिब ३० वर्ष पहिले अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दोहोर्याएर सोच्नुपर्ने टिप्पणी चीनले गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोषणा गरेलगत्तै चीनले यस्तो प्रतिक्रिया जनाएका हो ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार भने‘आणविक सम्झौताबाट फिर्ता हुने सन्दर्भमा चीनलाई जोड्नु गलत हुने कुरालाई जोड दिनु आवश्यक देखिएको छ ।’

सम्झौताले विश्वलाई निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन, रणनीतिक सन्तुलन स्थापित गर्न र विश्वव्यापी स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको हुवाको धारणा थियो ।अमेरिकालाई सङ्केत गर्दै सम्बन्धित पक्षले सम्झौताबाट फिर्ता हुने निर्णयबारे दोहोरायर सोच्नेमा चीन विश्वस्त रहेको हुवाले बताए ।

सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ यावकोभले आइतबार बताएका थिए ।उक्त सम्झौताले तत्कालीन दुई प्रतिस्पर्धी मुलुकबीच ५०० देखि पाँच हजार ५०० किलोमिटर जमिनबाट जमिनमा मार हान्नसक्ने मिसाइलको प्रयोगमा रोक लगाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन पहिले उक्त सम्झौताको रूसले विगत केही बर्ष यता उल्लंघन गर्दै आएको ले यस्ता हतियार विकास गर्न स्वतन्त्र रहेको जिकिर गर्दै फिर्ता हुने सार्वजनिक गरेका थिए ।तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गरेका छन् ।‘अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,’ गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए । उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको पनी बताए ।