अमेरिकामा फेरि गोली काण्ड, ३ जनाको मृत्यु

१३ श्रावण २०७५, आईतवार १५:४३

साउन १३, काठमाडौं । एजेन्सी

अमेरिकाको न्यु ओर्लीयन्स क्षेत्रमा स्थानीय समयअनुसार शनिवार राति दुई व्यक्तिले भीडमा जथाभावी गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । आक्रमणमा सातजना घाइते पनि भएका छन् ।

प्रहरीले शंकास्पद आक्रमणकारीहरूलाई खोजिरहेको छ ।

सीएनएनको समाचारअनुसार, शहरका प्रहरी प्रमुख माइकल ह्यारिसनले हूडी लगाएका व्यक्तिले गोली चलाएको बताएका छन् ।

यो घटना क्लेबोर्न एभेन्युनजिक भयो । ह्यारिसनले भने, ‘भीडमा पछिल्तिरबाट अन्धाधुन्ध गोली चलाइएको थियो ।

यो अत्यन्तै दुःखद घटना हो । गोलीकाण्डमा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भयो र अनेकौं मानिस घाइते भए ।’

घाइतेमा पाँच पुरुष र दुई महिला छन् । उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको हालत गम्भीर छ ।