अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छः गृहमन्त्री थापा

८ फाल्गुन २०७५, बुधबार १५:३४

काठमाडौं , गृहमन्त्री रामबहादुर थापा बादलले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको दावी गर्नु भएको छ । राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले ९५ प्रतिशत अपराधीलाई कानूनी कठघरामा ल्याएको बताउनु भयो ।

‘अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छ’ उहाँले भन्नु भयो, ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनौं । हामी त्यसमा प्रयासरत छौं ।’

मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अपराधी पत्ता लगाउन नसकेको स्वीकार गर्नु भयो । ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपर्थ्यो त्यसमा सफल भएका छैनौं’ उहाँले भन्नु भयो , ‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउनेछन् ।’