अन्तर्राष्ट्रिय समर्थन जुटाउन आबश्यक छः मन्त्री ज्ञवाली

८ आश्विन २०७५, सोमबार १०:०४

न्युयोर्क– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र संघको महासभाको ७३औं अधिवेशनलाई उपयोग गरिने बताएका छन्।

उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र संघलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र संघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आएका छन् र उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी छन्।

ज्ञवालीले नेपालमा निकै लामो संघर्षपश्चात प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गरे। उनले मुुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गरे।

मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेको बताए। उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न आग्रह गर्न राष्ट्र संघको महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको दाबी गरे।