अनेरास्ववियुको केन्द्रिय बैठक जेठ ४ र ५ बस्ने

१९ बैशाख २०७५, बुधबार ०५:१९

वैशाख १९, काठमाडौं ।

नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बस्न बोलाइएको छ ।

लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।

उनका अनुसार प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको बताएका छन् । बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उनलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा केन्द्रित हुने बताइएको पाइन्छ ।

अध्यक्ष लामा सांसद भएपछि कार्यव्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएका छन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।

विसं २०७२ फागुनमा भएको २२औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गरिने महासचिव महरले बताए । बैठकले नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ ।

प्रत्येक दुई वर्षमा अखिलको महाधिवेशनको व्यवस्था गरिएको छ । अखिलमा अहिले १५४ जनाको केन्द्रीय कमिटी रहेको पाइन्छ ।