अनलाइन पढाइ गर्न कठिन

१५ बैशाख २०७७, सोमबार १०:२८

काठमाडौं, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा अध्यापन सुरु भएको जानकारी दिए । यसका साथै विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सामुदायिक क्याम्पसले पनि अनलाइन प्रविधिबाट पढाइ सुरु गरेको जानकारी आफूले पाएको उनले बताए । यसअघि विश्वविद्यालयका केन्द्रीय विभागले पनि अनलाइन प्रविधिबाट विद्यार्थीको पठनपाठन सुरु गरेका थिए ।

विश्वविद्यालयले अनलाइनबाट विद्यार्थीलाई पठनपाठनमा जोडे पनि स्नातक तह तथा धेरै विषय पढाउने बहुमुखी क्याम्पसमा भने पढाउन समस्या देखिएको पदाधिकारीको भनाइ छ । मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तहमा कक्षा लिन समस्या भएको जनाइएको छ ।

छुट दिने तयारी

विद्यार्थीको पठनपाठन अघि बढाएपछि प्रविधिको प्रयोग गर्दा विद्यार्थीको खर्च बढ्ने भन्दै त्यसमा छुट दिने पहल गरिएको छ । प्रविधिको प्रयोग गरेर पढ्दा भएको विद्यार्थीको खर्च छुट गर्न पहल भइरहेको शिक्षाध्यक्ष डा। भुसालले जनाए । नेपाल टेलिकम र एनसेलसित विद्यार्थीको छुटका लागि भएको छलफल सकारात्मक भएको उनले बताए । विद्यार्थीलाई यसबाट केही हदसम्म भए पनि राहत पुग्ने उनको भनाइ छ ।

एकोहोरो भाषणको डर

विश्वविद्यालयको मानव शास्त्र केन्द्रीय विभागका प्रमुख डा डम्बर चेम्जोङले विभागकै पहलमा मास्टर इन फेलोसोपी (एमफिल) तथा स्नातकोत्तर तह प्रथम सेमेस्टरको पढाइ सुरु गरिएको जानकारी दिए । त्रिविको सूचना प्रविधिमा आफ्नो पहुँच नहुँदा समस्या भएको उनको भनाइ छ । अनलाइनमा अध्यापन मात्रै भनेर नहुने भन्दै उहाँले विश्वविद्यालयको केन्द्रीय पुस्तकालय अनलाइनसित नजोडिएको, पढ्ने सामग्री उपलब्ध गराउन नसक्दा अनलाइन कक्षा पनि एकोहोरो भाषण जस्तो हुने अवस्था रहेको उनको भनाइ छ । विश्वका विश्वविद्यालयको सम्पर्कको माध्यमबाट आफूहरूले विद्यार्थीलाई केही अध्ययन सामग्री उपलब्ध गराए पनि प्रविधिमा विश्वविद्यालयको पहुँच निकै कमजोर हुँदा समस्या भएको उनको भनाइ छ ।

समस्या पनि कम छैन

प्रविधिलाई राम्रोसित प्रयोग गर्न नसक्ने विश्वविद्यालयका धेरै शिक्षकलाई अनलाइन कक्षा लिन समस्या हुने देखिएकोे छ । सधैँ कक्षा कोठामा अध्यापन गराएकालाई एकैपटक अनलाइनमा कक्षा लिनुपर्दा समस्या हुने भएको हो । विश्वविद्यालयको योजना महाशाखाका प्रमुख डा। ऋदिश पोखरेलले कक्षामा विद्यार्थीसित ‘फेस टु फेस’ पढाउन अभ्यस्त शिक्षकलाई अनलाइनबाट पढाउन सुरुमा समस्या पर्नु स्वाभाविक भएको बताए ।

कम्प्युटर खोल्न नसक्ने पनि विश्वविद्यालयमा थुप्रै अध्यापनरत हुनुहुन्छ भन्ने हिसाबले विश्वविद्यालयले योजना बनाउनुपर्ने आवश्यकता महसुस गरिएको उनी बताउँछन् । (आजको गोरखापत्र दैनिकबाट)