अध्यादेश स्वीकृत गर्न संघीय समाजवादी फोरमको सुझाव

१० पुष २०७४, सोमबार ०२:५९

पुस १०, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतलनिवास पुगेका फोरम नेताहरुले अध्यादेश स्वीकृत नहुँदा नयाँ सरकार गठनमा विलम्ब हुने धारणा राखेका थिए । राष्ट्रियसभा गठन नभए सम्म निर्वाचन प्रक्रिया पूरा नहुने र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न नसक्ने उनीहरुको सुझाव छ ।

राष्ट्रपति समक्ष फोरम अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशमा आफूहरुको समर्थन रहेको जनाएका थिए । सरकारले दुई महिना अघि स्वीकृतिका लागि पठाएको अध्यादेश होल्ड गरेर राष्ट्रपति भण्डारी पछिल्ला दिनमा दलीय परामर्शमा जुटेकी छन् । एकपछि अर्को गर्दै राष्ट्रपति माथि संवैधानिक व्यवस्था र मान्यतालाई कुल्चेको आरोप लाग्न थालेको छ भने अध्यादेश स्वीकृत गर्न दबाब पनि वढ्न थालेको छ । नेपाली कांग्रेसका एक दर्जन महिला नेतृहरुले पनि राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका छन् ।
–नागरिक दैनिक