६ नम्बर प्रदेश सरकार कार्यालयको संरचना तयार

२ पुष २०७४, आईतवार ०४:१३

पुस २, सुर्खेत । ६ नम्वर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसदका लागि आवश्यक तयारी सुरु भएको छ ।

क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश व्यवस्थापिका संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री लगायत प्रदेश सरकारका लागि आवश्यक संरचनाहरुको व्यवस्थापन सुरु गरेको हो । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेशसभा भवन, सभामुख, प्रदेश प्रमुख, प्रदेश परिषद, मूख्यमन्त्री, गृह, अर्थ, कृषि तथा भूमि व्यवस्थापन, पूर्वाधार, विज्ञान तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका साथै कर्मचारीका लागि कार्यालय र निवासको पहिचान गरेर केन्द्रमा पठाइएको छ।

क्षेत्रीय प्रशासन कार्यालयले शाखा अधिकृत केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले शैक्षिक तालिम केन्द्रलाई प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुख लगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालय प्रस्ताव गरेको छ।
–नागरिक दैनिक