४७ वर्षे थारुको म्यादी प्रहरी मोह, कमाएको पैसा ऋण तिर्दै

३० आश्विन २०७४, सोमबार ११:३२

असोज ३०, कञ्चनपुर । विसं २०४८ मा म्यादी प्रहरीमा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ४७ वर्षीय गोविन्दा राना थारुले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा तेस्रोपटक म्यादी प्रहरी बनेका गोविन्दा खेती किसानी गरेर परिवारको जोहो गर्छन् । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भएर कमाएको रकममध्ये ५० हजार उनले कान्छो छोरालाई विदेश पठाउँदा लागेको ऋण तिरे ।

चौथोपटक म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय पुगेका गोविन्दाले भने, “हरेक चुनावमा सरकारले लिने म्यादी प्रहरी भर्नामा सहभागी भएकै छु ।” विसं २०४८ को निर्वाचनका बेला गर्जमुनि क्षेत्रमा खटिएका थारु २०७४ को स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकामा खटिए ।

“यसपटक म्यादी प्रहरीमा भर्ना भए बाँकी रहेको ऋण तिर्छुँ,” उनले भने, “हामीजस्ता अनुभवीलाई छनोटका बेला प्राथमिकतामा राख्नुपर्छ ।” वैदेशिक रोजगारीको अनुभवसमेत लिइसकेका थारुले म्यादी प्रहरी भएर निर्वाचनका बेला सेवा गर्न पाउँदा निकै सन्तुष्टि पाइने बताए ।
“म्यादीमा भर्ना हुँदा आर्थिक लाभमात्रै होइन सामाजिक रुपमा पनि कर्तव्य बोध हुन्छ,” उनले भने खुसी व्यक्त गरे ।

आठ वर्ष मलेसियामा रोजगारी गरेर बिदामा घर आएका शुक्लाफाँटा नगरपालिका–१ का ३१ वर्षीय राजकिशोर रानाले यसपटक म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । बिदाको समय सदुपयोग गर्न आफू म्यादी प्रहरीका लागि आवेदन दिन आएको उनको भनाइ छ । नयाँ अनुभव लिनका लागि आवेदन दिएको उनले बताए ।

एक सातादेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले म्यादी प्रहरी भर्नाका लागि आवेदन लिन थालेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । “स्थानीय तहका बेला तीन हजार ४ सय जतिले आवदेन दिएका थिए,” उनले भने, “यसपटक पाँच हजार आवेदक पुग्लान् जस्तो छ ।” म्यादीमा भर्नाका लागि कञ्चनपुरका सबै क्षेत्रबाट युवा–युवती जिल्ला प्रहरी कार्यालय धाइरहेको उनले बताए ।

स्थानीय तहमै म्यादी प्रहरी रहेका अधिकांश युवा–युवतीसँगै भुपू प्रहरी र सेनासमेत म्यादी प्रहरीका लागि आवेदन दिन आइरहेका छन् । “भर्ना हुन आउनेमा अधिकांश १२ कक्षाभन्दा बढी पढेका छन्,” प्रहरी प्रवक्ता सेटीले भने ।

सरकारले आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । (रासस)