३ बैंकले देखाए वास्तविकभन्दा धेरै नाफा

१८ भाद्र २०७४, आईतवार १५:३६
latest news from kathmandu nepal, breaking news from kathmandu nepal
भदौ १८ , काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरुको गत आव २०७३/७४ को नाफा र कतिपय बैंकहरुले प्रकाशित गरेको नाफामा ‘आकाश जमिन’कै फरक समेत देखिएको छ ।

यसरी नाफामा उच्च दरले फरक पर्नेमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी), लक्ष्मी बैंक र जनता बैंक रहेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा एनसीसी बैंकको नाफा मात्रै ५५ करोड ३१ लाख रुपैयाँ रहेको छ भने प्रकाशित वित्तीय विवरणमा भने नाफा १ अर्ब ३२ करोड रुपैयाँ छ । यसरी हेर्दा बैंकको नाफामा ७७ करोड रुपैयाँको फरक परेको छ ।

त्यस्तै, लक्ष्मी बैंकको नाफा ८६ करोड रहेको छ । तर, बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा २४ करोड बढि देखिएको छ । यता, जनता बैंकको पनि प्रकाशित नाफा राष्ट्र बैंकमा बुझाएको भन्दा ६ करोडले बढि देखिएको छ । कतिपय सेयर लगानीकर्ताहरु पनि बैंकहरुले राष्ट्र बैंकमा एक थरी वित्तीय विवरण पेश गर्ने र सार्वजनिक गर्दा भने अर्को गर्ने गरेर झुक्याएको मान्छन् ।

‘बैंकहरुले सेयर लगानीकर्तालाई वास्तविक तथ्यांक नै दिदैन्, कहिले प्रोभिजनिङ (खराब कर्जा वापत राखिने प्रावधान रकम) घटाएर त कहिले उठेको खराब कर्जा बढाएर नाफा बढि भएको देखाउछन,’ एक लगानी कम्पनीका विश्लेषकले भने । बैंकहरुले राष्ट्र बैंकमा सही वित्तीय विवरण पेश गर्ने तर सार्वजनिक गर्दा वास्तविकभन्दा धेरै देखाएर  चलाखी गरेको बताउँछन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक र वित्तीय विवरणमा देखिएको फरकपनाले पनि यस्तै देखाउँछ । तर, यो नियोजितभन्दा पनि प्रक्रियागत विषय भएकोले यस्तो देखिएको हो ।

किन पर्यो फरक ?

बैंकका अनुसार यसमा अलग-अलग कारण रहेका छन् । एनसीसी बैंकले मर्जर भएका संस्थाहरुको नाफा हिसाब राख्दा अपनाएको विधीले पनि केही फरक परेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार अर्याल बताउँछन् ।

यसबाहेक बैंकले राष्ट्र बैंकमा तथ्यांक पठाएपछि पनि केही खराब कर्जा उठेकोले फरक परेको अर्यालले बताए ।

२/४ करोडको फरक सामान्य

धेरैजसो बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकले सार्वजनिक गरेकोभन्दा २/४ करोड रुपैयाँले मात्र नाफा फरक (घटबढ दुवै) भएको देखिन्छ । यसलाई बैंकरहरु पनि सामान्य नै मान्छन् । तर, त्योभन्दा बढिको फरक या त त्रुटीले हुने देखिएको छ या त खराब कर्जा वा व्याजमा उच्च असुली ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको १५ दिन अर्थात साउन १५ गतेसम्म उठ्ने व्याजलाई जोड्न पाउछन् । त्यस्तै, राष्ट्र बैंकमा आर्थिक वर्ष सकिएको ६ महिना (पुस)सम्ममा पठाउन सकिने परिस्कृत लेखा परिक्षण सहितको वित्तीय विवरणमा असारपछि उठेका खराब कर्जाको सावा रकमलाई पनि समावेश गरेर पठाउन सक्छन् ।

कतिपय कम्पनीले बढि लाभांश घोषणा गर्न पनि परिस्कृत लेखा परिक्षणपछिको नाफा कुर्ने प्रवृत्ती छ । यही कारण कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा भएको नाफाको आधारमा देखिने लाभांश क्षमताभन्दा बढि लाभांश समेत घोषणा हुने गर्छ । हुनत : कम्पनीहरुले त्यो भन्दाअघिकाे वर्ष सबै रकम नबाँडेर सञ्चितीमा राखेको मध्येबाट पनि केही जुटाएर लाभांश घोषणा गर्न सक्छन् ।

तर, यसमा राष्ट्र बैंकले स्वीकृती दिनुपर्ने हुन्छ । यदी लेखा परिक्षणपछि बढ्ने नाफाको आधारमा लाभांश दिन राष्ट्र बैंकले रोक लगाएमा भने परिक्षण अघिको नाफाको आधारमा नै त्यसवर्ष लाभांश दिनुपर्ने हुन्छ ।

कहिलेकाँही हुँने प्राविधिक त्रुटीले पनि राष्ट्र बैंकले सार्वजनिक गरेको र बैंकहरुले प्रकाशित गरेको विवरणमा फरक देखिने गर्छ ।

सिभिलमा भयो प्राविधिक त्रुटी ?

सिभिल बैंकमा भने नाफाको तथ्यांकमा फरक पर्नुमा प्राविधिक त्रुटी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ बताउँछन् । राष्ट्र बैंकको अनुसार सिभिल बैंकको नाफा ४४ करोड रहेको छ भने प्रकाशित वित्तीय विवरणमा ३३ करोड मात्र देखिन्छ ।

‘हामीले नाफा उही नै भनेका थियौं जुन प्रकाशित गरेका छौं, ४४ करोड हाम्रो नाफा नभई सञ्चालन नाफा हो, बरु अन्तिम लेखा परिक्षण पछि हाम्रो नाफा १/२ करोडले बढ्ने देखिएको छ,’ गुरुङले भने ।

यता, राष्ट्र बैंकले एनएमबी बैंकको नाफा २ अर्ब ३४ करोड रहेको देखाएको छ भने बैंकले प्रकाशित गरेकोमा १ अर्ब ५१ करोड मात्र रहेको छ ।