३२ जिल्लामा आइतबार सवारीसाधन बन्द हुने

९ मंसिर २०७४, शनिबार १०:३८

मंसिर ९, काठमाडौं । पहिलो चरण अन्तर्गत प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा भोलि सवारीसाधन बन्द हुने भएको छ ।

३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन । निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यो क्षेत्र भएर चल्ने सवारी प्रभावित हुने भएको हो ।  पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएकोले सोही अनुसार तयारी गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ । आयोगको यस्तो निर्णयसँगै पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर ओहोर(दोहोर गर्ने सवारीसाधन प्रभावित हुने भएका छन् ।

 

पृथ्वी राजमार्गको केही भाग धादिङ र गोरखामा पर्छ । त्यहाँ भोलि मतदान हुँदैछ । त्यसैगरी, अरनिको राजमार्गसमेत भोलि प्रभावित हुनेछ । विपी राजमार्ग भएर रामेछाप, ओखलढुंगा जाने सवारीलाई समेत चुनावले असर गर्नेछ ।  भोलि मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि निर्वाचनले कुनै बाधा पार्ने छैन ।  प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । भोलि ३२ जिल्लामा मतदान हुँदैछ भने २१ गते ४५ जिल्लाको चुनाव गर्ने कार्यतालिका छ ।