स्पेनी राजाद्वारा एकता र सहअस्तित्वमा जोड

१० पुष २०७४, सोमबार ०३:३२

पुस १०, काठमाडौं । राजा फिलिपे छैटौँले क्याटलोनियाका नागरिकलाई मुठभेड नभइ सहअस्तित्व स्वीकार गर्न आग्रह गरेका छन्।   क्रिसमसका अवसरमा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजा फिलिपे छैटौँले मेलमिलापमा जोड दिए।गएको अक्टोबरमा राजा फिलेपे छैटौँले टेलिभिजनमार्फत गरेको सम्बोधनले धेरै क्याटलनहरुलाई आक्रोशित बनाएको थियो।

त्यसबेला उनले गैरकानूनी रुपमा जनमत संग्रह गराएका स्वतन्त्रता अभियानका नेताहरुको आलोचना गरे तर त्यसलाई रोक्न धेरै बल प्रयोग गरेका भनिएका स्पेनी प्रहरीका बारेमा केही बोलेनन्।  अहिले पनि राष्ट्रिय एकताको महत्त्व दिने अभिप्राय बोकेको उनको सम्बोधनको मूल विषय बदलिएको छैनन्।   तर क्रिसमसका अवसरमा यो पटक दिएको सम्बोधनमा उनी बढी सावधान र समाधानमुखी देखिएका छन्।  उनले यसै हप्ता क्याटलन संसद्, जसमा पृथकतावादीहरुको कम मत अन्तरसहितको बहुमत रहेको छ, त्यसमा चुनिएका नेताहरुले उक्त क्षेत्रको समस्या समाधानका लागि मुठभेड र निषेधको भन्दा सहअस्तित्वको बाटो रोज्नुपर्ने बताए।

उनले भने, ‘केही दिन पहिले क्याटलोनियाका नगरिकहरुले क्याटलन संसद्का लागि आफ्ना प्रतिनिधिहरु चुनेका छन् जसले अब सबै क्याटलनहरुलाई प्रभावित पारिरहेका समस्यालाई सहअस्तित्व र साझा हितलाई सम्मान गर्दै सम्बोधन गर्नुपर्छ। अबको बाटोले मुठभेड र निषेधको दिशामा डोर्‍याउनु हुँदैन।’  सावधानीपूर्वक उनले क्याटलोनियाको खुल्लापन र रचनात्मक भवानाको प्रशंसा गरे । फिलिपे छैटौँ एकजना संवैधानिक राजा हुन् र उनले क्याटलोनिया संकटका बारेमा समाधानको कुनै बाटो देखाउने छन् भनेर कहिल्यै पनि अपेक्षा गरिएको थिएन।  बहुमत प्राप्त पृथकतावादी दलहरुको समूहका नेता कार्लस पुज्डमोन स्पेनी न्यायिक निकायहरुबाट आफूलाई जोगाउन ब्रसल्समा बस्दै आएका छन्।  उनले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयलाई आफूसँग भेटवार्ता गर्न भनेका छन् तर स्पेनी प्रधानमन्त्रीले त्यसप्रति प्रतिक्रिया जनाउने रुचिसम्म व्यक्त गरिरहेका छैनन्।