सूचना विभागकले पत्रकारलाई निवृत्तिभरण र छात्रवृत्ति दिइने

१६ मंसिर २०७४, शनिबार ०५:२९

मंसिर १६, जुम्ला । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया पुँजीपतिको हातमा पुगेको बताएका छन् । मिडिया व्यवस्थापन तथा पत्रकार आचारसंहिता तालिम र सूचना विभागको प्रेस पास वितरण कार्यक्रममा अध्यक्ष आचार्यले अहिले व्यापारी र व्यवसायीले ठूला मिडिया चलाएको बताउँदै भने, “राज्यले साना मिडियालाई संरक्षण गर्ने कुनै पनि नीति लिएको छैन । पैसा लिएर समाचार छाप्ने संस्कृति पछिल्लो समयमा नेपालमा फस्टाउँदै गएको छ । ”

 

रेडियो, टेलिभिजन, अनलाइन र छापा पत्रिका एउटै मालिकले चलाइरहेको अवस्था नियमन अघि बढेको र अब एक व्यक्तिले १८ वर्षसम्म मात्र मिडिया सञ्चालन गर्न पाउनेगरी आम सञ्चार नीति २०७३ ल्याइएको जानकारी दिए ।  अध्यक्ष आचार्यले लोकल्याणकारी विज्ञापनभन्दा पनि सामानुपातिक विज्ञापन प्रणाली नीति लागु हुन सके मात्र मुलुकका साना तथा दुर्गमका मिडिया हाउस र पत्रकारको न्याय हुने भएकाले यसका लागि पहलकदमी अघि बढिरहेको बताए । उनले दुर्गम क्षेत्रलाई सहुलियत दिन ‘स्थानीय विज्ञापन, स्थानीय मिडिया’ बारे परिपत्र भइसकेको जानकारी दिए । त्यस्तै पत्रकार दुर्घटना बीमा प्रेस पास नवीकरण भए स्वतः दुर्घटना बीमा हुने प्रावधान सूचना विभागले ल्याएको पनि उनले अवगत गराए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई राज्य र कर्मचारीले अपराधी बनाएको आरोप लगाउँदै आचारसंहिताबाहिर रहेर काम गर्ने र कामचोर सञ्चारगृहलाई कारबाही गरिएको बताए । उनले ल्यापटप, क्यामेरा, प्रेसलगायत यान्त्रिक सामान खरिद गर्दा पत्रकारलाई काउन्सिलले सहयोग गर्दैआएको जानकारी दिए । “दलित, महिला सम्पादक भएमा पनि त्यसमा काउन्सिलले सम्मान गर्दैआएको छ,” उनले भने । विद्युतीय कारोबारसम्बन्धी ऐनको दफा ४७ ले पत्रकारले जे पायो त्यही लेखेमा कारबाही भोग्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले कर्णालीको पत्रकारिता र सञ्चारगृहका लागि विशेष ध्यान दिइने आश्वासन दिए ।

काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले छापा तथा विद्युतीय सञ्चारगृहको वर्गीकरण, तिनको अनुगमन र नियमन निर्बाध भइरहेको बताए । काउन्सिलका केन्द्रीय सदस्य ईश्वरी ओझाले पत्रकारले पत्रकारको भूमिका निर्वाह गर्न नसके प्रेस स्वतन्त्रताको विरासत गुम्ने उनको भनाइ थियो ।  सूचना विभागका महानिर्देशक वीरबहादुर राईले प्रेस पासलगायत सबै सेवा अनलाइन गर्न लागिएको जनाउँदै विभागले पत्रकारलाई निवृत्तिभरण र छात्रवृत्ति दिने व्यवस्था गर्न पहल थालेको र प्रेस पास नवीकरण गर्ने पत्रकारलाई दुर्घटना बीमा दिइने प्रावधान ल्याइएको बताए । विभागका शाखा अधिकृत रुपा विकले कर्णालीका ४० क्रियाशील पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र दिइएको जनाए । रासस