सिन्धुलीको जुनारमा सबैको नजर

२ पुष २०७४, आईतवार ०५:५०

पुस २, काठमाडौं । “सिन्धुलीको जुनार टिपेर खाऊँ क्यारे, गढीडाँडा काटेर जाऊँ क्यारे , शनिवारबारे हाटैमा माडी फाँटैमा…” । सिन्धुलीको सुन्दरता र जुनारलाई गीतको माध्यमबाट गीतकार विवश वस्तीको शव्दलाई बालन्द राइले माथिका हरफहरुमा स्वर भरे । यो गीतले नै सिन्धुलीको जुनार कति प्रख्यात रहेछ भन्ने कुरा प्रस्ट पार्छ । सिन्धुलीको जुनार नेपालीको मात्र होइन, विदेशीहरु पनि त्यतिकै आकर्षित छन् । सिन्धुलीमा उत्पादित जुनार चीन सरकारले लैजान पहल गर्नु, जापान सरकारले विगत १०÷ १५ वर्षदेखि जुनार फलको अनुसन्धन गर्नु र नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत सिन्धुली सुपरजोन कार्यक्रम सञ्चालन गर्नुले पनि जुनारको महत्वलाई अझ प्रष्टयाएको छ ।

जुनारका लागि प्रशिद्ध जिल्लाका रुपमा चिनिएको सिन्धुलीको जुनारको एउटा छुट्टै पहिचान छ । जुनार खानकै लागि छिमेकी नेपालभरका मानिस सिन्धुली आउने गर्छन । सिन्धुलीमा उत्पादित जुनारको जस्तो स्वाद अन्यत्र उत्पादन भएको जुनारको नभएको सरोकारवाला निकायको दाबी छ ।  पुरानो संरचनाअनुसार जिल्लाको ४२ वटा जुनार खेती गर्न सकिन्छ । यो खेतीबाट जिल्लाको करिब १० हजार मानिसले जीविका चलाउँदै आएका छन् । जुनार बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि सिन्धुलीवासी जुनारको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सिन्धुलीमा पछिल्लो समयमा जुनार खेती गर्ने कृषको संख्या बढ्दै गएको छ । आफ्नै गाउँमा केही गर्ने सोचका साथ युवाहरु पनि अहिले जुनार खेतीमा लागेका छन् । युवा जनशक्ति गाउँमै भएकाले जिल्लामा जुनार खेतीको विस्तार बढ्दै गउको जुनार विकास संघ सिन्धुलीका अध्यक्ष तिलकबहादुर थापाले बताए । “ अन्य जिल्लाका युवा विदेश पलायन भइरहेको अवस्थामा सिन्धुलीका युवा आफ्नै ठाउँमा केही गर्ने सोचमा जुनार खेतीमा लागेका छन्” उनले भने “यसरी युवा जनशक्तिलाई आफ्नै ठाउँमा परिचालन गर्न सके गाउँको पनि विकास हुन्छ ।”

जुनार विकास संघ सिन्धुलीका अनुसार सडक सञ्जालको पँहुच पुगेसँगै जिल्लामा जुनार खेती गर्ने कृषकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जुनार खेतीका लागि राम्रो हावापानी र राम्रो आम्दानी गर्न सकिने भएकाले युवाको आकर्षण पनि जुनार खेतीमा बढ्दै गएको छ । –कारोबार दैनिक