साम्राज्ञी शाहलाई बेलायतले भिसा नदिएपछि झरनासँग अष्ट्रेलिया जाने

२० कार्तिक २०७४, सोमबार १४:५९

कात्तिक २०, काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले भिसा नै दिएन । साम्राज्ञी मात्र होइन, यूकेले भिसा नदिएका कलाकारको सूची अहिले लामै बनिसकेको छ । साम्राज्ञी यूके जान नपाएपछि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन पूर्ण रुपमा प्रभावित भयो ।

नेपालमा आधा छायांकन सकिएको चलचित्र साम्राज्ञी यूके जान नपाएकै कारण रोकियो । अब, यो चलचित्रको छायांकन कहिले हुन्छ, टुंगो छैन । साम्राज्ञी यूके जान नपाएपनि अब चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने भएकी छिन् । नोभेम्बर १२ बाट अष्ट्रेलियाका विभिन्न शहरमा हुने चलचित्रको प्रदर्शनमा साम्राज्ञी र चलचित्रकी निर्देशक झरना थापा सहभागी हुन लागेका हुन् ।

 

‘हो र हैन होला र तास इभेन्ट्स तासमानिया’ले ‘ए मेरो हजुर २’को शो अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गर्न लागेका हुन् । नेपालमा बम्पर कमाई गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् भने सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा साम्राज्ञीसँगै सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।