साना सवारी साधन आयातमा वृद्धि

२६ आश्विन २०७४, बिहीबार ०५:०५

असोज २६, काठमाडौं । चाडपर्वको समयमा साना सवारी साधन आयातमा वृद्धि भएपछि वीरगन्ज भन्सार कार्यालयको राजस्वमा पनि वृद्धि भएको छ । नेपालमा मनाइने चाडवाडलाई लक्षित गरेर साउन र भदौ महिनामा वीरगन्ज भन्सारबाट ५ अर्ब रुपैयाँ बराबरका भारतीय सवारी साधन नेपाल भित्रिएका छन् ।

दसैं, तिहार, धन तेरस, छठलगायतका पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ५ अर्ब ५९ करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका सवारी नेपाल भित्रयाएका हुन् ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा साना सवारीसाधनको बढी बिक्री हुने र उत्पादन कम्पनीहरुले पनि विशेष उपहार योजनाको प्रलोभन देखाउने भएकाले सवारी बिक्री बढी हुने हुँदा आयातामा पनि वृद्धि भएको व्यवसायीहरु बताउँछन् । खुला अर्थतन्त्र र नेपालमा खुलेका विभिन्न बैंक तथा वित्तीय संस्थाले पनि सवारी साधनमा फाइनान्सको सुविधा दिने भएकाले साना सवारी साधन प्रयोग बढेकाले आयात तथा बिक्री पनि बढेको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले चाडवाडको समयलाई दृष्टिगत गर्दै व्यापारीले साउन र भदौमा बढी सवारी साधन आयात गर्ने गरेको बताए । वीरगन्ज भन्सार कार्यालयका अनुुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा धेरै मोटरसाइकल नेपाल भित्रिएका छन् । यस अवधीमा ३५ हजार ८ सय १४ वटा मोटरसाइकल भित्रिएको भन्सार कार्यालयको तथ्यांक छ ।

जसको मूल्य २ अर्ब ७१ करोड ६८ लाख ५१ हजार रुपैयाँ पर्छ । आर्थिक वर्ष २०७३÷७४ मा पनि साउन र भदौ दुई महिनामा २ अर्ब १ करोड ३१ लाख ३ हजारको २४ हजार २ सय ८२ वटा मोटरसाइकल नेपाल भित्रिएका थिए । त्यस्तै १ अर्ब ८४ करोड ६० लाख ५१ हजार मूल्य बराबरका दुई हजार २८५ थान जीप, कार र भ्यान भित्रिएका छन् । गत आर्थिक वर्षमा ६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीका सवारी साधन भित्रिएका थिए ।

इलेक्ट्रिक सवारीमा १ प्रतिशत, कृषिसम्बन्धीमा ५ प्रतिशत कर लाग्ने भए पनि अन्य विलासिताका साधनको रुपमा लिईने सवारीमा २ सय २६ प्रतिशतसम्म कर लाग्ने गरेको छ । चालू आर्थिक वर्षको दुई महिनामा भन्सार कार्यालयले ७ अर्ब ७२ करोड २९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो साउन र भदौ महिनामा संकलन भएको राजस्वको ३९।२६ प्रतिशत हो ।

भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १९ अर्ब ६६ करोड ८२ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयले दिएको तथ्यांकअनुसार सबैभन्दा बढी जीप, कार, भ्यानबाट ३ अर्ब ६२ करोड ७१ लाख ३६ हजार राजस्व संकलन भएको छ भने मोटरसाइकलले दोस्रो स्थान ओगटेको छ ।  मोटरसाइकल आयतबाट कार्यालयले २ अर्ब ७१ करोड ६८ लाख ५१ हजार रुपैयाँ तथा अन्य सवारी साधनबाट गरी उक्त राजस्व संकलन भएकोे हो ।

मधेस आन्दोलन हुनुअघि गत आर्थिक वर्ष २०७३÷७४ को साउन र भदौमा कार्यालयले ७ अर्ब ६ करोड ५० लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष साउनरभदौमा सवारी साधनले भन्सार राजस्वमा ४१ प्रतिशत योगदान दिएको थियो । दुई महिनामा लक्ष्यभन्दा ५ प्रतिशत बढी राजस्व संकलन भएको गत आर्थिक वर्षमा १७ अर्ब १६ करोड ९१ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको थियो । साउनपछि मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण लामो समयसम्म वीरगन्ज नाकामा अवरोध भएपछि धेरै सवारी आयातकर्ताले नाका परिवर्तन गरेर भैरहवाबाट आयात गरेका थिए । कारोबार दैनिकबाट