सहज रुपमा न्यायका लागि योजनाबद्ध काम भइरहेको छ – प्रन्या पराजुली

पुस ३, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताएका छन् ।

न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताए ।  प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उनले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रहसमेत गरे । न्याय प्रशासनलाई प्रभावकारी बनाउनका लागि संवैधानिक व्यवस्थाअनुसार काम गर्ने उल्लेख गर्दै उनले राजनीतिक परिवर्तन भए पनि न्याय परिषद्मा कुनै पनि असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश नियुक्ति, सरुवालगायतका काममा सक्षमता, व्यावसायिकता र इमान्दारितालाई केन्द्रमा राखेर काम गर्न परिषद्का सबै सदस्यलाई आग्रह गरे ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले जनताको आस्थाको धरोहरका रुपमा रहेको न्यायालयबाट छिटो र सहज न्याय पाउने तरिकाले काम गर्नुपर्ने बताए। परिषद्ले नेपालको संविधानअनुरुप काम गरिरहेको उल्लेख गर्दै नेपालको इतिहासमा पहिलोपटक खुल्ला परीक्षाबाट जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको पराजुलीले बताए ।

 

नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीले गलत काम गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार भएको परिषद्ले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न आग्रह गरे। उनले ८० प्रतिशतभन्दा बढी न्यायाधीश खुल्ला प्रतियोगिताबाट नियुक्ति गर्नु राम्रो कुरा भएको बताए। सो अवसरमा परिषद्ले प्रकाशन गरेको न्याय परिषद्को वार्षिक बुलेटिन प्रधानन्यायाधीश पराजुलीले सार्वजनिक गरे । परिषद्को स्थापना २०४७ साल पुस ३ गते भएको थियो । स्थापनादेखि नै पुस ३ गते स्थापना दिवस मनाउँदै आइरहेको छ ।


प्रकाशित | २०७४ पुष ३ प्रकाशित १४:०७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ