सर्लाहीमा कांग्रेस र राजपाबीच झडप, स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर

२१ मंसिर २०७४, बिहीबार ०६:३७

मंसिर २१, सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक महिला गम्भीर भएकी छिन्, तीन जना सामान्य घाइते भएका छन् ।


स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना–३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ ।

उनको उपचार अहिले जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । घटनास्थलबाट घाइतेहरुलाई प्रहरीले एम्बुलेसमा राखी अस्पताल पुर्‍याएको छ ।

झडप पछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारीरहेको प्रजिअ कटुवालले जानकारी दिए ।