समानुपातिकतर्फको मतपरिणामलाई केन्द्रीकृत गर्दै

४ पुष २०७४, मंगलवार ०२:०३

पुस ४, काठमाडौं । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकमुष्ट रुपमा केन्द्रीकृत गर्ने कार्य गरिरहेको छ ।

प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र सातवटा प्रदेशका सातवटै ठाउँमा एकीकृत गरी ती तथ्याङ्कहरुलाई रुजु गर्ने कार्य जारी रहेको र केही दिन भित्रै दलहरुले प्राप्त गर्ने सिटको बाँडबाँड गरिने आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको १६५ निर्वाचन र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले हस्ताक्षर गरेको लिखित आधिकारिक कागजातका आधारमा मतपरिणामलाई केन्द्रीय स्तरमा एकमुष्ट बनाउने कार्य भइरहेको छ । प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची आयोगमा बुझाएका छन् ।

 

त्यसैगरी प्रदेशसभातर्फ ५३ वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् । सबै निर्वाचन क्षेत्रबाट प्राप्त मत परिणामलाई रुजु गर्ने कार्य सकेपछि प्रतिनिधिसभातर्फ तीन प्रतिशत वा सो भन्दा माथि मत प्राप्त गर्ने र त्यो भन्दा घटी मत प्राप्त गर्ने दलको सूची तयार गरिने छ । तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलहरुको सूचीलाई एकातिर राखी तीन प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने दलको सिट बाँडफाँड प्रक्रिया अगाडि बढाइने जानकारी आयोगले दिएको छ । –गोरखापत्र