सप्तरीको बाढी प्रभावित क्षेत्रमा झाडापखालाको प्रकोप

२० आश्विन २०७४, शुक्रबार ०३:३६

काठमाडौं, २० असोज । सप्तरीको बाढी प्रभावित क्षेत्र तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँका दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् । खोलामा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोइलाडी–३ सकरपुराका मनोज मण्डल र उनी श्रीमती गीतादेवी मण्डल सिकिस्त बिरामी परेकी छिन् ।

दुवै जनालाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको स्थानीयवासीले बताइएका छन् । बिरामी परेका एक दर्जनलाई गाउँमै राखेर जिल्ला जनस्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरी उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

त्यस्तै अन्य बिरामी परेकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको भैरहेको छ । दुई महिना अगाडि जिल्लाको विभिन्न खोला र नदीमा आएको भीषण बाढीका कारण सकरपुरासहित सो क्षेत्रका हजारौ व्यक्ति बाढीबाट प्रभावित भएका थिए ।

चेतनाको अभाव र सरसफाइमा ध्यान नदिएका कारण सकरपुरामा एक सातादेखि बढेको प्रदूषित नदीबाट माछा मारेर त्यतिकै खाने गरेकाले सो प्रकोप फैलिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

त्यस्तै केही दिनयता मौसममा परिवर्तन आएपछि अहिले राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, झाडापखाला, विषमज्वरोलगायत विभिन्न रोगका बिरामी उपचार गराउनका लागि आउने गरेको पाइएको छ । अस्पतालमा दिनहुँ २५ देखि ४० जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।