सप्तरीका दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

२३ भाद्र २०७४, शुक्रबार ०३:०४

भदौ २३, सप्तरी । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ ।

यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको हो ।

 

अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सबै मतदानस्थलको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोही अनुसार गरिएको बताए ।

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षामा खटिने उनले जानकारी दिएका छन् । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले चार हजार प्रहरी र अधिकारीलाई आवश्यक उपकरण र हातहतियारसहित निर्वाचनस्थल र क्षेत्रमा खटाउने तयारी गरिसकेको छ ।

आवश्यक परे छिमेकी सुनसरी, मोरङ, झापा लगायतका जिल्लाबाट समेत थप प्रहरी झिकाउने योजनासमेत बनिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । उनले सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरे । उनका अनुसार जिल्लाको विकट मानिएका क्षेत्रसहित नगरको चौक चौकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सचेत छ ।

बहिष्कारको पक्षमा रहेका सिके राउत र अघिल्लो दिन जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० का संयोजक जयकृष्ण गोइतले विज्ञप्तिमार्फत निर्वाचन बिथोल्ने र उम्मेदवारलाई जनकारबाही गर्न दिएको चेतावनीलाई पनि सुरक्षा चुनौतीका रुपमा लिँदै प्रहरीले विशेष योजना बनाएको छ ।

‘विभिन्न नामधारी सशस्त्र समूहबाट निर्वाचन बहिष्कार र बिथोल्ने प्रयास हुनसक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै योजना बनेका छन्’, उनले भने, ‘यस्ता व्यक्ति र समूह हाम्रो निगरानीमा छन्, कुनै गडबड हुन नदिन हामी लागिपरेका छौँ ।’

उनले थपे, ‘मतदाता ढुक्क भएर मतदानका लागि आउनोस् हल्लाले सुरक्षा व्यवस्था बिथोलिँदैन ।’ उनले खुल्ला सीमा भएका कारण सीमावर्ती भारतीय क्षेत्रका स्थानीय सुरक्षा अधिकारीसँग पनि समन्वय गरी सुरक्षा निगरानी बढाइएको बताए ।

नाका क्षेत्रमा जाँचमा कडाइ तथा निगरानी बढाइएको बताउँदै उनले निर्वाचनको २४ घण्टाअघि देखि सीमा सिल गर्ने जानकारी पनि दिए ।

यता जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले जिल्लाका १८ स्थानीय तहको ८५६ पदका लागि हुने निर्वाचनका लागि जिल्लामा २९५ मतदानस्थलको चयन गरी आवश्यक सम्पूर्ण कार्य अघि बढिसकेको जानकारी दिए ।

सप्तरी जिल्लामा एक लाख ७० हजार ४५५ पुरुष तथा एक लाख ६० हजार ६८६ महिला गरी कुल तीन लाख ३१ हजार ४६२ मतदाता छन् ।