शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्नः डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?

३ भाद्र २०७४, शनिबार १५:१२

३ भदौ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर पहिरो, बाढी तथा डुवान समस्याबारे गम्भीर प्रश्न उठाएकी छन् ।

उनले डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्ने र चुरे क्षेत्रको संरक्षण गर्नु पर्नेमा जोड दिएकी छन् ।राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुलाई बोलाएर बाढी पहिरो प्रभावितको उद्दार, राहत र पुनस्र्थापनको उचित प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छन् । साथै प्राकृतिक विपदको रोकथाम र पूर्वतयारी गर्नु पर्नेमा जोड दिएकी छन् ।

भण्डारीले ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, अनि जति सकिन्छ राहत बाँढेर बस्ने ? भन्दै नेताहरुलाई प्रश्न गरिन्, ‘डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?

भेटमा सहभागी एक नेताका अनुसार राष्ट्रपति सुविचारित सल्लाह गरेर शीर्ष नेताहरुमाझ प्रस्तुत भएको देखिन्छ ।

राष्ट्रपति भण्डारीले नेताहरुलाई योजनाबद्ध विकासको रणनीति खै भन्दै प्रश्न समेत गरेका छन् । बाढीको समस्यासँग जोड्दै उनले जहाँ जे पनि गर्न दिने, पुल भत्किने गरेर बालुवा निकाल्न दिने, आफ्नो ठेकदारलाई संरक्षण गर्ने गरेको भन्दै राजनीतिक नेताहरुप्रति असन्तुष्टि समेत जनाएकी छन् ।

उनले काठमाडौंको बसपार्कमा टावर बनाउन दिएकोमा पनि असन्तुष्टि जनाएकी छन् । एक मात्र अन्तर्राष्ट्रिय स्तरको सिटी हल -सभागृह) पछाडि खाली ठाउँ बनाउनु त कहाँ हो कहाँ, भ्यू टावर बनाउन दिने र बस पार्क बनाएर टुँडिखेल मास्ने भन्दै प्रश्न गरेको एक नेताले बताएका छन् ।

राष्ट्रपति चण्डारीले साझा परराष्ट्र नीति निर्माण गर्न समेत दलहरुको ध्यानाकर्षण गराएकी छन् । साथै संविधान संशोधनबारे पनि संविधान निर्माणकर्ता प्रमुख दलहरु एक ठाउँमा बसेर अघि बढ्नु उपयुक्त हुने उनको धारणा थियो ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले डुवानबारे भारतसँग कुरा गर्ने भनेका थिए । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले भने राष्ट्रियताको कुरा गर्दा खोक्रो राष्ट्रियता भन्ने सत्तारुढ दलहरुसँग के कुरा गर्नु भनेका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने राष्ट्रपतिले भनेको कुरा भन्ने हो भने लागू भए नभएको अनुगमन गर्नु पर्छ कि पर्दैन भनेर प्रश्न उठाएका थिए ।