व्यवस्थापिका संसदको आज अन्तिम बैठक : शनिबर रातिदेखि स्वत विघटन हुँदै

२७ आश्विन २०७४, शुक्रबार ०३:५९

असोज २७, काठमाडौं। संविधान जारी गरी संविधानसभाबाट व्यवस्थापिका संसदमा रुपान्तर भएको व्यवस्थापिका संसद बैठक शनिबर रातिदेखि स्वत विघटन हुँदैछ। संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो। संविधानसभाबाट व्यवस्थापिका संसदमा रुपान्तरिक भएको संसदको अन्तिम बैठक आज बस्दैछ।

संविधानको व्यवस्था अनुसार संसद स्वत विघटन हुन लागेको हो। संविधानका व्यवस्थापिका संसदको म्याम आगामी माघ ७ गतेसम्म रहेपनि मंसीरमा प्रतिनिधिसभा निर्वाचन हुने भएपछि विघटन हुन लागेको हो। प्रतिनिधिसभा निर्वाचन मनोनयन हुने अघिल्लो दिन संसद स्वत विघटन हुने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकालागि समानुपातिक उम्मेद्वारको बन्दसूचि बुझाउने दिन असोज२९ गते तोकेको छ। वर्तमान संसद सुरुमा संविधानसभामार्फत गठन भएको थियो। पहिलो संविधानसभा संविधान जारी नगरी विघटन भएपछि राजनीतिक सहमतिमा दोस्रो संविधानसभाको निर्वाचन भएको थियो।

चार वर्षे कार्यकाल पाएको संविधानसभाले दुई वर्षमा नै संविधान जारी गरेपछि संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरित भएको थियो। निर्वाचन आयोगले असोज २९ गते प्रतिनिधिसभा निर्वाचनको समाुनपातिकतर्फको बन्दसूचि पेश गर्ने समय दिएका कारण शुक्रबारको संसद बैठक अन्तिम हुनेछ।सभामुख घर्तीले शुक्रबार अन्तिम बैठक भएको जनाउ कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा दलहरूलाई गराइसकेकी छन् ।