वैद्य र विप्लव एकीकरणको तयारीमा

११ पुष २०७४, मंगलवार ०२:३७

पुस ११, काठमाडौं । शीर्ष दलहरु मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिष्ट पार्टीहरु एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रुपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ । विचार मिल्नेहरुसंग एकताका लागि आफूहरु खुल्ला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ ।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रय सदस्य अम्बिका मुडवरीले जानकारी दिइन् । माओवादी केन्द्र र एमालेसँग पार्टी एकता हुनै नसक्ने बताए । उनले भनिन् –‘ती पार्टी कम्युनिष्टको सिद्धान्त नै अवलम्बन गर्दैनन् । त्यसैले देशलाई समृद्ध बनाउन नयाँ जनवादी क्रान्ति अनिवार्य छ । कम्युनिष्टहरु सदैव क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ । हाम्रो प्रयास विचार मिल्ने मुख्यतः विप्लव नेतृत्वको नेकपालगायतका दलसंग एकता हुने कुरा साँचो हो । हामी निरन्तर छलफलमा छौं’

एमाले र माओवादीको एकीकरण नौटंकी भएको भन्दै असन्तुष्टहरु ध्रुवीकरणका लागि आफूकहाँ आएको क्रान्तिकारी माओवादीका नेता सेवन्तराज भण्डारीले जानकारी दिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । क्रान्तिकारी माओवादीले केही दिनमै ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गर्ने गरी छलफल लाई अन्तिम चरणमा पु¥याएको बताएको छ ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिलाई स्वीकार गरे एकता हुने भन्दै कम्युनिष्टहरुबीच एकीकरणका विषयमा छलफल भइरहेको बताएको छ । जनयुद्धलाई स्वीकार गर्ने र एकीकृत जनक्रान्तिलाई आत्मसाथ गर्नेहरुलाई आफूहरु ध्रुवीकरण गराउन तयार रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बताएको छ ।