विस्फोट गराउँदै गरेको पाइए सिधै गोली हान्न गृहको आदेश

३ मंसिर २०७४, आईतवार ०३:३७

मंसिर ३, काठमाडौं । गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिंडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो । तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन ।

शनिबार मात्र रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका थिए ।  त्यस्तै तनहुमा नेपाली कांग्रेसका बरिष्ठ नेतालाई लक्षित गरी बम विस्फोट गराइएको थियो । त्यसबाहेक ओखलढुङ्गा बम फेला परेको थियो भने भोजपुरमा गोली हानाहान भएको थियो । (नयाँ पत्रिका दैनिकबाट)