विज्ञापन प्रकाशन र प्रसारण गर्ने मिडियाको अधिकार

१४ मंसिर २०७४, बिहीबार १४:०२

मंसिर १५, काठमाडौं । नेपाल मिडिया सोसाइटीले निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन र प्रसारण गर्ने मिडियाको अधिकार भएको जनाएको छ ।

निर्वाचन आयोगले सन्चारमाध्यमहरुलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गर्दा आचारसंहिता उल्लंघन भएको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि मिडिया सोसाइटीले मुख खोलेको हो ।

मिडियाले समाचार र सूचनाका माध्यमबाट जनतालाई सत्यतथ्य बुझ्न सहयोग गर्ने भन्दै मिडियाका लागि विज्ञापन ‘अक्सिजन’मात्र नभएर सार्वभौम अधिकारसमेत रहेको सोसाइटीको भनाइ छ ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनताको सुसूचित हुन पाउने अधिकारलाई सर्वोपरि ठान्ने मूल प्रवाहका मिडियालाई कुनैपनि पक्षबाट दख्खल दिने काम नहोस् भन्नेतर्फ सचेत गराउन चाहेको पनि मिडिया सोसाइटीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चुनावको मुखमा कुनैपनि पक्षबाट निर्वाचनविरोधी क्रियाकलाप र मिडियालाई हतोत्साहित हुने कार्य गर्नेरगराउने कार्य स्वीकार्य नहुने पनि मिडिया सोसाइटीले स्पस्ट पारेको छ ।