वाम गठबन्धनको घोषणापत्र सार्वजनिक पाँच वर्षमा देश गरिबी मुक्त बनाउने

१७ कार्तिक २०७४, शुक्रबार ०४:००

कात्तिक १७, काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्र (वाम गठबन्धन) ले देशलाई पाँच वर्षभित्र गरिबी मुक्त गरी वि स २०९९ सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेका छन्।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा १० वर्षभित्र प्रत्येक नेपालीको आय कम्तिमा ५ हजार अमेरिकी डलर पुर्याउने उल्लेख गरेका हुन्।

घोषणापत्रमा लेखिएको छ, आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पङ्क्तिमा पुर्याइनेछ। निरपेक्ष परिबीको रेखामुनी रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिने छ। १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आष्ट्रको अर्थतन्त्र विकास गरिनेछ। यस शताब्दीको अन्त्य अर्थात वि सं २०९९ सम्म नेपालीलाई समुन्नत राष्ट्रको स्तरमा पुर्याइने गरी आर्थिक र विकासका योजना कार्याक्रम अगाडि बढाइने छ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट वामपन्थी शक्तिहरूको अत्यधिक बहुमतको सरकार निर्माण हुने दाबी घोषणापत्रमा छ। ‘मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा गुणात्मक ढंगले अघि बढाउने अवसर हो,’ जनमतलाई आफूतिर तान्नुपर्ने कारण राख्दै त्यसमा भनिएको छ, ‘हामीले इमानदारी र क्षमतापूर्वक राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादउन्मुख नेपाल निर्माणको उद्देश्य पूरा गर्न सक्छौं,’( घोषणापत्रमा उल्लेख छ।