वाम पार्टीबीच एकता संविधान कार्यान्वयनको हित विपरित भएको कांग्रेस बैठकको निश्कर्ष

१८ आश्विन २०७४, बुधबार १४:५४

असोज १८, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण संविधानको हितमा नरहेको निश्कर्ष निकालेको छ। बैठकले वाम एकतालाई काउण्टर दिनका लागि लोकतान्त्रिक शक्तिबीचको गठबन्धन निर्माण गरेर जानु पर्नेमा जोड दिएको छ।

 

काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय कार्यसम्पादन समिति बैठकमा नेताहरुले कम्युनिष्ट पार्टीहरुबीच एकीकरण गर्ने मंगलबारको सहमति संविधानको हितमा नरहेको बताए।  दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति संविधान कार्यान्वयनको हितमा नरहेको धेरैजसो नेताहरुले धारणा राखेका नेता विमलेन्द्र निधिले जानकारी दिए।

 

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन निर्माण गरेर जाने प्रस्ताव राखेका थिए।  प्रधानमन्त्री देउवाले यही सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने बताए। देउवाले आफूले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्न संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलगायतका दलहरुसँग पनि छलफल सुरु गरेको बैठकमा जानकारी गराएका थिए।