ललितपुर क्षेत्र नम्बर १ मा पूर्व डिआइजी सिलवालको मनोनयन दर्ता

१६ कार्तिक २०७४, बिहीबार १०:३४

कात्तिक १६, ललितपुर । डिआईजीबाट राजिनामा दिई एमालेमा प्रवेश गरेका नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।

वाम गठबन्धनका तर्फबाट बिहिबार तामझामका साथ मनोनयन दर्तास्थल पुगेका उनले उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै आफूलाई राज्यले अन्याय गरे पनि जनताले अन्याय नगर्ने दाबी गरे ।

मनोनयन दर्तापछि सिलवालले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई  न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’

उनले  विगतमा आफू  कानून लागू गर्ने ठाउँमा भएको र  आज देश समृद्ध बनाउने ठाउँमा आएको भन्दै अमूल्य मत दिएर विजयी गराउन  आह्वान गरे ।

सिलवालले निर्वाचनपछि  वामपन्थी सरकार बनेर देश विकास हुने  समेत बताए ।