राष्ट्रपति भण्डारीले आइतबार साँझ कुमारीबाट प्रसाद ग्रहण

२६ भाद्र २०७४, सोमबार ०२:५९

भदौ २६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गर्नुभएको छ ।

 

वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उहाँले राष्ट्रप्रमुखको हैसियतले फूल, प्रसाद तथा टीका ग्रहण गर्नुभएको हो । हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन मल्लकालदेखि नै राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।

भदौ २० गतेबाट औपचारिक रूपमा शुरु भएको इन्द्रजात्राको आइतबार समापनका क्रममा हनुमानढोकमा ठड्याइएकोे लिङ्गो राति १०ः४५ बजेको साइतमा पूजाआजाका साथ ढालिएको थियो

भक्तपुरको चित्तपोलस्थित जंगलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) लाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । लिङ्गो उठाउँदा जस्तै ढलाउँदा पनि विशेष बाजागाजासहित गुर्जु पल्टनले तोप पड्काउने चलन छ ।

काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये इन्द्रजात्रा ठूलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शनपश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखे, गणेश, भैरव र कुमारीको रथ यात्रामा घुमाइने चलन छ ।

करिब एक सातासम्म चल्ने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न तरिकाले लाखे नाचको प्रदर्शन गरिन्छ ।