राष्ट्रपति भण्डारीबाट चिकित्सा शिक्षा अध्यादेश जारी

२४ कार्तिक २०७४, शुक्रबार ०७:५६

कात्तिक २४, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार चिकित्सा शिक्षा अध्यादेश जारी गरेकी छन् । कात्तिक ६ गते मन्त्रीपरिषदले पास गरेको सो अध्यादेश जारी गर्न ढिलाइ भएपछि मेडिकल शिक्षाा सुधारका अगुवा डा‍. गोविन्द केसीले पुनः दवाव सृजना गरेपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो ।

राष्ट्रपतिबाट किन ढिलाइ भएको हो भन्ने जिज्ञासामा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशिल प्याकुरेलले भने अध्यादेश जारी नगर्ने भन्ने कुरै छैन । अध्यादेशबारे कानुनका जानकारहरुसँग परामर्श गर्दा ढिलाइ भएको हो ।  सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसदको अन्तिम बैठकको कार्यसूचीमा राखेपनि विधेयक पास नभएपछि सरकारले डा. गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।

 

अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ । अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ ।