राष्ट्रपतिलाई विपक्षीले उचाल्न खोजेको प्रधानमन्त्री देउबाको आरोप

२८ आश्विन २०७४, शनिबार १४:०८

असोज २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी एमालेमाथि मन्त्रिपरिषद् विस्तार रोक्न राष्ट्रपतिलाई उचाल्न खोजेको आरोप लगाएका छन् ।

 

शुक्रबारको संसद बैठकलाई सम्बोधन गर्दै देउवाले विपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिए । राष्ट्रपति विद्या भण्डारीले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेको भन्दै उनले भने, ‘हिजो राजा कसैले उचाल्दा उचालिन्थे तर, उनी उचालिँदै उचालिनन् ।’   संक्रमणकालीन मन्त्रिपरिषदको संख्याबारे संविधानमा केही उल्लेख नभएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले सविधान अनुसार काम गर्न पनि नपाउने ? उनले अघि भने, ‘भोलि सख्या घट्न पनि सक्छ । २÷४ दिनमा थाहा पाइहाल्नुहुन्छ ।’  प्रदेश २ को चुनाव अघि पनि सरकार विस्तार भएको स्मरण गर्दै उनले विपक्षी दलका नेतामाथि त्यसबेला केही नबोलेको तर, अहिले किन प्रश्न गरेको भनेका छन् ।  देउवा अघि सम्बोधन गरेका ओलीले थप मन्त्री किन चाहियो भन्दै प्रश्न गरेका थिए ।

 

मन्त्रिपरिषद् विस्तार रोक्न राष्ट्रपतिलाई उचाल्न खोजेको आरोप लगाउँदै देउवाले भने, ‘उहाँ उचालिनु भएन । संवैधानिक भूमिका निर्वाह गर्नु भएको छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले समेत मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने भनिसकेको भन्दै उनले यादवलाई पनि धन्यवाद दिए ।