राप्रपा प्रजातान्त्रिकका १० सांसदको सामूहिक राजीनामा आउदै

२६ भाद्र २०७४, सोमबार १४:००

भदौ २६, काठमाडौं । राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागि भएसँगै पार्टी भित्र किचलो सुरु भएको छ । आफूहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक राजिनामा दिने तयारी समेत गरेका छन् ।

अध्यक्ष राणाले सरकारमा जानेहरुको नाम आइतबार सार्वजनिक गरेसँगै सोमबार विहान राणा निवास पुगेका असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन माग गरेका थिए ।तर यस मागमा राणा तसकोमस नभएपछि राणा पक्षका सांसद बिच्कीन पुगेका छन ।

‘सरकारमा जाने विषयमा हामीसँग कुनै छलफल पनि भएन, छलफल नभएपनि समाबेशी बनाइएको भए केही थिएन, सवै पुरुषमात्रै पठाइयो त्यो पनि एक व्यक्ति एक पदको नीति विपरित । त्यसैले हामी विकल्प सोच्न बाध्य भयौं’, असन्तुष्ट मध्येकी एक सांसद राज्यलक्ष्मी श्रेष्ठले भनिन् ‘अब हामी सामुहिक राजिनामा दिने तयारीमा छौं ।’ असन्तुष्टहरुले आजै बिहान अध्यक्ष राणालाई भेटेर अव ‘अन्तिम भेट’ भयो भन्दै फर्किएका थिए ।

भेटमा उनिहरुले रेशम लामाको नाम फिर्ता लिएर कोही एक महिला सांसदलाई सरकारमा पठाउन राणालाई भनेका थिए । तर, जवाफमा अध्यक्ष राणाले ‘अव अहिले केही हुदैन, अर्को पटक हुने मन्त्रिमण्डल विस्तारमा महिलालाई सहभागि गराउला’ भनेर फर्काएका थिए । राप्रपा प्रजातान्त्रिक असन्तुष्ट पक्षका एक नेताका अनुसार पार्टीमा कुनै छलफल नगरी सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि गराउन लागिएपछि पद नपाउनेहरु आक्रोशित हुनु स्वभाविक हो । राणाको पार्टीका जम्मा १८ जना सांसदमध्ये १० जना महिला सांसद छन् ।

राप्रपा प्रजतान्त्रिकका राणाले कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत साउन २२ गते पार्टी फुटाएका थिए ।