राप्रपा उम्मेद्वारलाई २४ घण्टे स्पष्टीकरण

१२ मंसिर २०७४, मंगलवार ०३:०४

मंसिर १२, काठमाडौं । निर्वाचन आयोगले राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेद्वार ध्रुवबहादुर प्रधानसँग आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण मागेको छ ।

आयोगले सोमबार विज्ञप्ती जारी गर्दै मौन अवधि सुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नौ र पार्टीको निर्वाचन चिन्ह राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो ।  विज्ञप्तिमा भनिउको छ, ‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिको मिति २०७४÷८÷१० को निर्णयअनुसार अनुरोध छ ।’

 

खरेललाई आयोग बोलाइयो   

निर्वाचन आयेगले रत्नराज्य माध्यमिक विद्यालय बानेश्वर काठमाडौंकी प्रधानाध्यापक डा. गीता खरेललाई आयोगमै बोलाएको छ ।  सामाजिक सञ्जाल युट्युवमार्फत काठमाडौं –१ का काँग्रेस प्रतिनिधिसभा सदस्य उम्मेद्वार प्रकाशमान सिंहको पक्षमा भोट मागेपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो । तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै आयोगले फेरि सोमबार विज्ञप्ति जारी गर्दै आयोगमै बोलाएको हो । आयोगले उनलाई २४ घण्टाभित्र उपस्थित हुन भनेको छ । –राजधानी दैनिक