राजपाले जिते मात्रै मधेशको जितःअध्यक्ष महतो

६ मंसिर २०७४, बुधबार ०७:०९

मंसिर ६, धनुषा ।
मधेश र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बताएका छन् ।

आज धनुषाको नगराइन नगरपालिकामा गरिएको चुनावी सभामा महतोले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महतोले मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउनेलाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने समते उनले बताए । आफूहरुको आन्दोलन मधेशको अधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उनले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताए ।

महतोले राजपाले जिते मात्रै मधेशको जित हुने भन्दै मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउन आग्रह गरे । महतोले कांग्रेस सधैँ सत्तामा रहेको भएपनि जनकपुर चुरोट कारखाना बन्द भएको भन्दै जनकपुर भिठ्ठामोड,जटहीलगायतका सडकको अवस्था जीर्ण रहँदा समते नबनेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन नसक्दा द’ख लागेको भन्दै राजपा जितेर गएको खण्डमा विद्यमान सबै मुद्दाको सम्बोधन हुने राससले समाचार लेखेको छ ।