राजनीतिक स्थायित्व र स्थायी सरकार निर्माणका लागि वाम गठबन्धन : अध्यक्ष ओली

१४ मंसिर २०७४, बिहीबार ०३:५३

मंसिर १४ दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बलियो हुन नदिन र परिवर्तन नचाहने शक्तिहरू अहिले सक्रिय हुन थालेकाले त्यस्ता शक्तिविरुद्ध लडाइँ लड्ने बेला आएको बताएकाको छ ।

 

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले गृहनगर झापाको दमकमा महिला संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा भने, “यो निर्वाचन परिवर्तन चाहने र मुलुकलाई यथास्थितिमा राख्नेबीचको प्रतिस्पर्धा हो । ”निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको शासन स्थापित गर्ने उन चर्चा गरे । आफूहरूले अधिनायकवादी सोच नराखेर मुलुकको समृद्धि र जनताको चाहना अनुसारको स्थायी सरकार निर्माण गर्ने उद्देश्यले वाम गठबन्धन गरेको ओलीले बताए ।
आफूहरू अधिनायकवादी शासन नभएर जनताले चाहे अनुसारको शासन व्यवस्थाका लागि लडेको बताउँदै ओलीले भने, “हामीले राजनीतिक स्थायित्व र स्थायी सरकार निर्माणका लागि वाम गठबन्धन गरेका हौँ । ” उनले यो निर्वाचनपछि राजनीतिक अस्थिरता अन्त्य हुने र नयाँ युगको सुरुआत हुने दाबी गरे ।

 

अहिले वाम गठबन्धनविरुद्ध विभिन्न भ्रम छर्ने काम भइरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले निर्वाचनपछि कम्युनिस्टहरूले सरकार चलाउने भएर अहिले काँग्रेस डराएको बताए । उनले भने, “काँग्रेसले सरकार चलाउँदा अधिनायकवाद नहुने, हामीले जनताको अभिमत लिएर सरकार चलाउँदा त्यो अधिनायकवाद हुने हास्यास्पद छ । ”  कम्युनिस्टले जितेको अवस्थामा कहीँ विकास हँुदैन र बोल्न तथा लेख्न पनि पाइँदैन भनेर आफ्नो क्षेत्रमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्दा आफूलाई अचम्म लागेको भन्दै उहाँले यहाँको विकास हेर्न आग्रह गरे । अध्यक्ष ओलीले आफूहरूले महिलालाई दिए जत्तिको अवसर दुनियाँमा कुनै पनि मुलुकले र नेपालमा पनि कुनै पनि राजनीतिक दलले नदिएको दाबी गरे । उनले एमालेबाट नै प्रस्ताव गरेर विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएको, माओवादी केन्द्रबाट ओनसरी घर्तीमगरलाई सभामुख बनाएको स्मरण गरे ।

 

यसैबीच एमाले अध्यक्ष ओलीले राजधानीबाट झापा आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूहरू आचारसंहिताको परिपालनामा प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचन आयोगले आचारसंहिता पालना नगरेको भनेर पत्र काट्दा अचम्म लागेको उनले बताए। आफूले कहीँ पनि पत्रिकाहरूलाई विज्ञापन छाप्न नदिएको, शुभचिन्तकहरूबाट चुनाव जिताउन अपिल गरेको हुनसक्ने भन्दै उनले त्यसको जवाफ पनि दिइसकिएको जनाए ।
यसैगरी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालमा नातावादले गर्दा खेलकुद क्षेत्रको विकास हुन नसकेको बताएको छ ।
खेलकुद चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा हुने प्रतिस्पर्धामा योग्य खेलाडी पठाउनुको सट्टा नातागोताका मानिस मात्र पठाउने गरिएको आरोप लगाए । खेलकुद विकास भएमात्र देश विकास हुन्छ ।