युवाशक्ति बाहिरिनु देशको शिक्षा क्षेत्रको असफलता –नेता गुरुङ

११ पुष २०७४, मंगलवार ०३:०९

पुस ११, काठमाडौं । प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले युवाशक्ति बाहिरिनु देशको शिक्षा क्षेत्रको असफलता रहेको बताएका छन्।

लमजुङको मध्यनेपाल–१ जितास्थित सूर्यज्योति माविको ४३ औँ वार्षिकोत्सवमा उनले भने –“शिक्षा क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा बेरोजगार बन्नुपरेको छ ।”

“शिक्षा क्षेत्रबाट जति पनि जनशक्ति उत्पादन भएका छन्, ती बाहिरएका अवस्था छ”, नेता गुरुङले भने, “बेरोजगार बनेर लाखौँ युवा विदेशिएका छन्, यो स्थितिलाई आमूल परिवर्तन गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने दिशामा लाग्न जरुरी छ ।”  उनले सामुदायिक विद्यालयमा राज्यको लगानी बढाउनुपर्ने र माविसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्नेमा जोड दिदैं प्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयको स्थापनामा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।