मोटरसाईकलमा आएका भारतीय नागरिकलाई हतियारसहित वीरगन्जको रामटोलबाट पक्राउ

२६ भाद्र २०७४, सोमबार ०२:२०

भदौ २६, पर्सा । हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले सार्वजनिक गरेको हो।

नियमित चेकजाँचका क्रममा शम्शेरलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

उनले विआर २२ एम ३२६३ नं को मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शम्शेरमाथि शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन थान गोलीलगायत प्रतिबन्धित सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।

पक्राउ परेका भारतीय नागरिक शम्शेरले वीरगन्जको सुन व्यापारीलाई लुट्न आएको बयानमा बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए। हातहतियार मुद्दामा छ वर्ष अगाडि पक्राउ परेर चारवर्ष कैद भुक्तान गरी दुई वर्ष अगाडि शम्शेर रिहा भएको जानकारी दिँदै उनले पुनः वीरगन्जको सुन व्यापारीलाई लुट्ने योजनासहित वीरगन्ज छिरेको बताए।

विसं २०६८ असार १४ गते वीरगन्जको माइस्थानस्थित अलंकार ज्वेलर्समा लुटपाट गर्ने क्रममा शम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो। हतियारसहित पक्राउ परेका शम्शेरलाई हातहतियार खरखजाना ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस