मृतक गौचन शहीद घोषणा, आजै अन्त्येष्टि गरियो

२६ आश्विन २०७४, बिहीबार ०६:२३

काठमाडौँ, २६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो ।

उहाँको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिनुभएको स्व गौचनका काका ओमकारले जानकारी दिनुभयो । गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र परिवारले उहाँको शव बुझ्न नमानेकामा गृहमन्त्री जनार्दन शर्माले शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

गौचनको शव बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उहाँको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।

यस्तै गृहमन्त्री शर्मा, वन तथा भूसंरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, काँग्रेस नेता प्रकाशमान सिंह, नेकपा (माओवादी केन्द्र) की नेत्री पम्फा भुसाललगायतले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

महासंघदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो । त्यस्तै थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५०० मोटरसाइकलको यात्रा निकालिएको थियो ।