मुलुक समृद्ध बनाउने कार्यभार कम्युनिस्टको हातमा आएको छ – अध्यक्ष प्रचण्ड

२ पुष २०७४, आईतवार ०३:२६

पुस २, काठमाडौं । मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायीत्व र समृद्ध देश निर्माण गर्ने अभियानमा वाम एकता गरिएको बताएका छन् । उनले पार्टी एकताको कुरा निर्वाचन अगाडि गर्न प्राविधिक समस्या भएकाले निर्वाचनमा साझा उम्मेदवारहरु लिएर जानु परेको समेत जनाएका छन ।

निर्वाचन परिणाम र वाम गठबन्धनका आफ्ना उम्मेदवारहरुको विजय जनताबाट समेत अनुमोदन भएका कारण अव पार्टी एकता हुनवाट कसैले रोक्न नसक्ने पनि उनले जिकिर गरे । नेकपा (एमाले) का महासचिवत तथा नेकपा (एमाले) र मओवादी केन्द्र पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका ईश्वर पोखरेलले काठमाण्डौंको शंखपार्कमा मतदातालाई धन्यावाद दिन आयोजित कार्यक्रममा प्रचण्डले उक्त मन्तब्य राखेका हुन् ।  सोही अवसरमा अध्यक्ष प्रचण्डले एमाले र मओवादी केन्द्रको विजय दुई पार्टीको फ्यूजनबाट सम्भव भएको र आगामी दिनमा यो जनादेशलाई आत्मासाथ गर्दै अव देशलाई समृद्धिको युगमा प्रवेश गराउदै नयाँ सुत्रपात गर्ने अवसरलाई सदुपयो गर्ने समेत दावी गरेका छन् । २०१९ सालदेखि विभाजित कम्युनिस्ट आन्दोलन एकीकरणको दिशामा अघि बढेको र करिब दुई तिहाइ जनताले त्यसलाई अनुमोदन गरको समेत दावी गरेका छन् ।

 

उनले निर्वाचन परिणाम एमाले र माओवादी केन्द्रको फ्युजनले सम्भव भएको बताउँदै कोही कसैले घमण्ड गर्न नहुने सल्लाह ब्यक्त गरे । इतिहासमा पहिलोपटक मुलुक समृद्ध बनाउने कार्यभार कम्युनिस्टको हातमा आएको बताउँदै अवसर खेर जान नदिने उनको वचनवद्धता थियो ।  कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेल लगायतका नेताहरु पनि आफ्नो मन्तब्य राखेका थिए ।