माथिल्लो त्रिशूली थ्री बी ३७ मेगावाटको जलविद्युत आयोजनाको विद्युत खरीद विक्री सम्झौता

३१ भाद्र २०७४, शनिबार १३:४६

भदौ ३१, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मूख्य लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली थ्री बी ३७ मेगावाटको जलविद्युत आयोजनाको विद्युत खरीद विक्री सम्झौता (पीपीए) भएको छ ।

प्राधिकरण र आयोजनाको प्रर्वद्धक त्रिशूली जलविद्युत कम्पनीबीच पिपिएमा हस्ताक्षर भएको हो। प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले पिपिएमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने १३४.८८ गिगावाट घण्टा र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७.७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरीद गर्नेछ।

पिपिए दर वर्षायाम र सुख्खायाममा प्रति यूनिट क्रमश स् ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ । आयोजनाको निर्माण आगामी पुसबाट शुरू गरी ३६ महिनाभित्रमा सक्ने लक्ष्य राखेको कम्पनीका प्रबन्ध सञ्चालक गौतमले जानकारी दिए । आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३० र ३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री एको क्यास्केड आयोजना हो ।