माओवादी केन्द्रसँग कहिल्यै एकता हुँदैन : अध्यक्ष वैद्य

२७ भाद्र २०७४, मंगलवार ०८:५७

भदौ २७, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन् ।

 

पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले १० वर्षे जनयुद्धको ‘म्यान्डेट’अनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गरे ।

आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र उक्त महाधिवेशनले नयाँ रणनीति बनाउने र चुनावमा भाग लिने या नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले जानकारी दिए ।

नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँगमात्रै कार्यगत एकता गरेर जाने बताउँदै उनले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । रासस