महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सोमबार नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

३ मंसिर २०७४, आईतवार १६:२४

मंसिर ३, काठमाडौं । महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा सोमबार नेपालले आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैैछ । विश्वकपमा छनोट हुने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा जित हात पार्दै सुखद नतिजा निकाल्ने दाउमा छ ।

बेंकक्स्थित टेर्डथाई मैदानमा नेपालले पहिलो खेलमा आफुभन्दा अब्बल टिमसँग खेल्न लागेको हो । घरेलु टिमलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । थाईल्याण्ड आफ्नो पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने रणनीतिमा छ ।

नेपाली टिमले विश्वकप छनोटको लागि लक्षित गर्दै बंगलादेश भ्रमण गरेको थियो । बंगलादेशबाट सिदै नेपाली टिम थाइल्याण्ड प्रस्थान गरेको हो ।

सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले नोभेम्बर २१ तारिखमा दास्रो खेल हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग २४ नोभेम्बर र अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको पहिलो र दोस्रो हुने टिमले फाइनल खेल खेल्नेछ । उपाधि विजेता टोलीले आगामी बर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छ ।

नेपाली खेलाडीहरुमा कप्तान रुविना क्षेत्रीसंगै सीता राना मगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुना भण्डारी र सोनु खड्का रहेका छन् ।

त्यस्तै, लक्ष्मी चौधरी, रितु कनोजिया, संगिता राई, काजोल श्रेष्ठ, र सव्नम राई रहेका छन् । त्यस्तै, बैकल्पिक खेलाडीमा कविता कुन्वार, रेखा रावल र नितु भण्डारी रहेका छन् ।