मन्त्री दीपक बोहारामाथी आचारसंहिता उल्लंघनको आरोपमा उजुरी

मंसिर १३, बुटवल । स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उनले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा गत शनिबार राति २२ थान बिजुलीको पोल बाँडेको अरोप लगाइएको छ ।

शुद्धोधन गाउँपालिका–४ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्य हेमन्त थापा, भुनेश्वर थारुलगायत १०० जनाभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरीत जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेको हो ।

यसैबीच सो ठाउँमा निर्वाचन आचारसंहिता विपरीत बिजुलीको पोल खसालेको भन्दै निर्वाचन आचारसंहिता अनगुमगन समिति रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सोही ठाउँमा पुगी स्थलगत अध्ययन गरेको छ ।

निर्वाचन अधिकृत कार्यालयको आचारसंहिता अनुगमन टोलीले आचारसंहिता अनुगमन उल्लंघनको अनुगमन गरी तत्काल ती पोल शुद्धोधन गाउँपालिकाको मातहतमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । निर्वाचनपश्चात् आवश्यक छलफल गरी आवश्यक ठाउँमा गाउँपालिकाले ती पोल वितरण गर्ने भएको छ । मन्त्री बोहोराले आफूले आचारसंहिता विपरीत हुने गरी कुनै काम नगरेको भन्दै विद्युत् पोल वितरण गरेको आरोपको खण्डन गरे ।–रासस


प्रकाशित | २०७४ मंसिर १३ प्रकाशित ०३:२५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ