मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने

२८ मंसिर २०७४, बिहीबार ०२:५७

मंसिर २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् ।

मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । सरकारले अत्यावश्यक बाहेक अन्य निर्णय गर्न नचाहेको उनले बताए । ‘संविधानले नयाँ बन्ने मन्त्रिपरिषद बढीमा २५ सदस्यीय हुने व्यवस्था गरेको छ, अहिले रहेका मन्त्रालय मध्ये कुन कहाँ गाभ्ने र जम्मा कति मन्त्रालय राख्ने नयाँ सरकारको विषय हो,’ परियारले भने । अहिले ३० मन्त्रालय छन् भने ६४ सदस्यीय मन्त्रिपरिषद छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख भने अहिलेकै सरकारले नियुक्त गर्ने बताए । अब बस्ने मन्त्रिपरिषद बैठकले अस्थायी मुकाम र त्यसपछि थप तयारी गरी प्रदेश प्रमुख नियुक्त गर्ने उनले जानकारी दिए । एमालेले प्रदेश प्रमुख नियुक्त नगर्न दबाब दिइरहेका वेला सरकारले भने प्रदेश प्रमुख तोक्न गृहकार्य गरिरहेको छ ।
–नयाँपत्रिकाबाट