मजदुर दिवसको अबसरमा प्रचण्डको माग: श्रमिकलाई खाद्यान्न देउ, अलपत्रलाई घर सम्म पुर्‍याउ

१९ बैशाख २०७७, शुक्रबार १०:२३

काठमाडौं ।  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गर्दै संसार मनाइने मे दिवसको अवसरमा प्रचण्डले कोभिड-१९ पान्डेमिकका कारण काठमाडौं लगायतका क्षेत्रमा काम गर्ने मजदूरहरुलाई खाद्यान्न लगायतका सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘यतिबेला संसारभरका श्रमजीवी मजदूरहरुको रोजगारी गुमिरहेको छ। दैनिक ज्याला गरेर जिविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न शहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘देशका विभिन्न भागहरुबाट आ-आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन-समुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनुपर्ने कर्तव्य हामी सबैको हो।’

उनले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड-१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेको भन्दै यसबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न अनुरोध गरेका छन्।