मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारीहरुको अन्तिम नामावली आज सार्वजनिक गरिँदै

८ कार्तिक २०७४, बुधबार ०२:०२

कात्तिक ८, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको  संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ ।

आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने भएको छ ।  उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो ।  उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।

 

त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।  पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो ।

प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ ।   त्यसैगरी प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।