मंसिरमा हुने निर्वाचनपछि बहुमतको सरकार बनाउने रणनीतिमा

५ आश्विन २०७४, बिहीबार १४:४६

असोज ५, काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा हुने निर्वाचनपछि बहुमतको सरकार बनाउने रणनीतिमा लागेको जनाएको छ । त्यसका लागि पार्टीका सबै निकायलाई परिचालन गर्ने तयारी नेकपा एमालेले गरेको छ ।

एमालेको शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि यसबारेमा छलफल हुने स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले जानकारी दिए ।त्यसका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार पनि बसेको छ । “मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचनपछि केन्द्रीय र प्रदेशसभामा एमालेको बहुमतसहितको सरकार बनाउन सिँगो पार्टी लाग्ने विषयमा छलफल भएको छ,” ज्ञवालीले भने ।

त्यसका लागि सिंगो पार्टी परिचालन हुने पनि उनले बताए । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन परिणामको पनि समीक्षा गरेको पनि उनले बताए । “मतगणना गर्दागर्दै कर्मचारी फेर्ने काम भएको छ,” उनले भने, “सुरक्षाकर्मी फेर्ने काम भएको छ । यसबारेमा पनि समीक्षा गरेका छौं । शुक्रबारदेखि हुने केन्द्रीय कमिटी बैठकमा आगामी दिनमा एमालेको भूमिकाका बारेमा पनि छलफल हुनेछ ।”