भैरव अर्याल स्मृति सम्मान पुरस्कार धुर्मुस–सुन्तलीलाई

१७ मंसिर २०७४, आईतवार ०४:२३

मंसिर १७, काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई शनिबार एक समारोहमा भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यग्यकार भैरव अर्यालेको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष तथा साहित्यकार डा सुधा त्रिपाठीले पुरस्कृतद्वयलाई २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी थिइन् । डा त्रिपाठीले धुर्मुस–सुन्तली हास्यकलाकार मात्र नभई बहुआयामिक व्यक्तित्व भएको जिकिर गरिन् । मुलुक परिवर्तनका निम्ति धुर्मुस र सुन्तलीजस्ता हजारौं मानिसको आवश्यकता रहेको भन्दै उनले थपिन, ‘धुर्मुस–सुन्तलीले सामाजिक क्षेत्रमा देखाएको बाटो सबैले अनुशरण गर्नुपर्छ ।’

कार्यक्रममा सीतारामले मुलुकको मूर्धन्य हास्यकलाकार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो सम्मान र पुरस्कारले सामाजिक क्षेत्रमा काम गर्न थप ऊर्जा पैदा गरेको छ ।’ भूकम्पपीडित र बाढीपीडितहरूलाई घर बनाउँदा मन पनि जोडिदिएको उनले सुनाए । उक्त पुरस्कार सात वर्षदेखि हास्यकलाकारहरूलाई प्रदान गरिँदै आएको छ । धुर्मुस–सुन्तली हास्यकलाकारबाहेक सामाजिक कार्यमा पनि क्रियाशील रहेकाले उक्त पुरस्कार प्रदान गरिएको साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष आरसी रिजालले बताए । गत वर्ष हास्यकलाकार मनोज गजुरेललाई र त्यसअघि चटयाङ मास्टरलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कुञ्जना भने अनुपस्थित थिइन् ।